
सतर्क रहौं: क्रिसमस अफरको नाममा नेपाल टेलिकमको दुरुपयोग
पुस ३, २०८१
"नेपाल टेलिकम – क्रिसमस गिफ्ट" को नाममा ठगी अभियान फैलाइएको छ। ठगहरूले रु ५,००० जित्न सकिने भन्दै आकर्षक अफरका नक्कली लिङ्कहरू फैलाएका छन्।
ती लिङ्कहरूमा क्लिक गरेपछि केही सामान्य प्रश्नहरू सोधिन्छन्। त्यसपछि "तपाईंले जित्नुभयो" भन्ने झूटो सन्देश देखाइन्छ। विश्वास दिलाउन अन्य नक्कली प्रतिक्रियाहरू पनि देखाइन्छ। तर, यो सबै ठगी मात्र हो।
नेपाल टेलिकमको प्रष्टिकरण
नेपाल टेलिकमका प्रवक्ता हरि ढकाल ले भनेका छन्:
“नेपाल टेलिकमले कुनै पनि प्रकारको क्रिसमस गिफ्ट योजना ल्याएको छैन। ग्राहकलाई अफरबारे जानकारीका लागि आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न आग्रह गरिन्छ।”
विशेषज्ञहरूको चेतावनी: ठगीबाट कसरी जोगिने?
साइबर सुरक्षा विज्ञहरूका अनुसार यस्ता नक्कली लिङ्कहरूमा मालवेयर वा भाइरस हुने सम्भावना धेरै हुन्छ।
यदि लिङ्कमा क्लिक गरियो भने:
- तपाईंको व्यक्तिगत जानकारी (जस्तै बैंक खाता, पासवर्ड) चोरी हुन सक्छ।
- तपाईँको मोबाइल वा कम्प्युटरमा भाइरस फैलिन सक्छ।
यसबाट जोगिन के गर्ने?
- शंकास्पद लिङ्कहरूमा कहिल्यै क्लिक नगर्नुहोस्।
- कम्पनीको आधिकारिक वेबसाइट वा सामाजिक सञ्जाल मात्र प्रयोग गर्नुहोस्।
- लोभलाग्दा अफरहरूमा सजिलै नपर्नुहोस्।
- व्यक्तिगत विवरण कसैलाई पनि साझा नगर्नुहोस्।
सजग रहौं, सुरक्षित रहौं
यस्ता ठगीका घटनाबाट बच्न सदैव सजग रहनु अत्यावश्यक छ। कुनै पनि अफरमा सहभागी हुनुअघि यसको सत्यता प्रमाणित गर्नुहोस्।
नेपाल टेलिकमको आधिकारिक जानकारीमा मात्र विश्वास गर्नुहोस् र आफ्नो गोपनीयता सुरक्षित राख्नुहोस्।
Author: Er. Milan Ghimire
Published Date : २०८१ पुस ३